एजेन्सी । आयोजक तथा घरेलु टोली इजिप्ट अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ ।
शनिबार भएको अन्तिम १६ को खेलमा दक्षिण अफ्रिकासँग १-० गोल अन्तरले पराजित हुँदै इजिप्ट प्रतियोगिताबाट बाहिरिएको हो ।
मोहमद सलाहको टिम इजिप्टविरुद्ध दक्षिण अफ्रिकाका थिमबिनकोशी लोर्चले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८५ औं मिनेटमा लोर्चले गोल गरेका थिए ।

खेल अवधिभर बल पोजिसनमा पकड जमाएपनि इजिप्टले गोल गर्न सकेनन् । लिभरपुललाई च्याम्पियन्स लिग जिताउन मुखु भूमिका खेलेका सलाह पनि अफ्रिकाविरुद्ध चल्न सकेनन् ।
अब दक्षिण अफ्रिकाले सेमिफाइनल प्रवेशको लागि नाइजेरियासँग खेल्नेछ । क्यामरुनलाई ३-२ गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा पुगिसकेको छ ।