एजेन्सी । लण्डन क्लब चेल्सी फरवार्ड अल्भारो मोराटा स्थायी रुपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसंग अनुबन्धित भएका छन् । प्रिमियर लिग क्लब चेल्सी र एट्लेटिको मड्रिडले मोराटालाई स्थायी रुपमा स्पेनमा राख्ने बिषयमा सहमती गरेका हुन् ।
उनी पछिल्लो समय लोनमा स्पेनिस क्लबबाट खेल्दै आएका थिए । लोनमा स्पेनमा खेल्दै आएका मोराटाको बसाई अर्को सिजनमा सकिदै थियो । चेल्सीमा दुई बर्ष बिताएका मोराटा लण्डन क्लब फर्किन अनिच्छा ब्यक्त गर्दै आएका थिए । उनले चेल्सीमा रहदाँ ७२ खेलमा २४ गोल गरेका थिए ।
उनी सन् २०१७ मा समर ट्रान्सफर अन्तर्गत रियल मड्रिडबाट प्रिमियर लिगमा आएका थिए । उनी कीर्तिमानी मुल्य ६० मिलियन पाउण्डमा पाँच बर्षका लागि चेल्सी आएका थिए ।
उनले प्रिमियर लिगको डेब्यु खेलमा गोल गरेका थिए । बेन्चबाट खेलको सुरुवात गरेका उनले वर्नलीविरुद्व डेब्यु गोल गरेका थिए । रियल मड्रिड र युभेन्ट्सबाट खेलेका उनले एफ ए कपको उपाधि उचालेका थिए ।

मोराटाले यस सिजन समेत लोनमा एट्लेटिको मड्रिडबाट खेल्नेछन् । लोन सकिएपछि उनी स्थायी रुपमा क्लबसंग जोडिनेछन् । उनले एट्लेटिको मड्रिडका लागि १७ खेलमा ६ गोल गरेका छन् ।
एट्लेटिको मड्रिडले नयाँ सिजनका लागि कीर्तिमानी मुल्यमा पोर्चुगलका युवा स्टार जोआओ फिलिक्सलाई क्लबमा अनुबन्धन गरेको छ । यस्तै उसले मेक्सिकोका मिडफिल्डर हेक्टर हेरेरा र ब्राजिका सेन्टर ब्याक फिलिपलाई समेत क्लबमा अनुबन्धन गरेको छ ।
क्लबका स्टार फरवार्ड एन्टोनी ग्रिजम्यानले यस सिजन क्लब छाड्ने घोषणा गरेका थिए । तर क्लबले बार्सिलोनाको प्रस्तावलाई अस्विकार गर्दै ग्रिजम्यानलाई प्रि सिजनको अभ्यासमा बोलाएको छ ।