एजेन्सी । ब्राजिलियन मिडफिल्डर कार्लोस कासिमिरोले नेयमार ब्राजिलका उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
घरेलु मैदानमा जारी कोपा अमेरिकाको फाइनलअघि बोल्दै डिफेन्सिभ मिडफिल्डर कासिमिरोले उनको फुटबल क्षमताको कारण नेयमार उत्कृष्ट खेलाडी रहेको दाबी गरे ।
'नेयमारको क्षमताको कारण हामी भन्न सक्छौं उ ब्राजिलको उत्कृष्ट खेलाडी हो', कासिमिरोले भने, 'उनको अद्भुत क्षमता छ । जुन उनले सबैलाई प्रस्तुत गरिसकेका छन् । उनले ब्राजिलियन टोलीमा प्रमाणित गरिसकेका छन् । उनलाई रोक्न असम्भव जस्तै छ ।'
कोपा अमेरिकाको फाइनलमा ब्राजिलले सोमबार पेरुको सामना गर्दैछ । तर, नेयमार ब्राजिलियन टोलीमा रहेका छैनन् । एङ्कल चोटका कारण नेयमारले कोपा गुमाएका हुन् ।
यस्तै रियल मड्रिडका मिडफिल्डर कासिमिरोले नेयमार उत्कृष्ट भएपनि ब्राजिलियन टिममा अन्य धेरै उत्कृष्ट खेलाडी रहेको समत बताए । उनले नेयमारविना पनि टिमले फाइनलमा उत्कृष्ट खेल्ने बताए ।
'यदि नेयमार यहाँ थिए भने हामीलाई उनले धेरै सहयोग गर्ने थिए । तर, यो हैन कि उ नहुदा हामी पराजित गर्न सक्दैनौं,' कासिमिरोले भने, 'पक्कै पनि हामीसँग अन्य उत्कृष्ट खेलाडीहरु छन् ।'