काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा १० खेलाडीमा सिमित थ्री स्टार क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै आर्मी क्वाटरफाइनलमा पुगेको हो ।
सातदोबाटोस्थित एन्फा मैदानमा आर्मीलाई जित दिलाउन कप्तान कैलाश लामिछाने क्षेत्रीले २ गोल गरे । यस्तै विपिन श्रेष्ठको नाममा एक गोल रह्यो । थ्री स्टारका सन्जिब लामाले सान्त्वना गोल फर्काए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा थ्री स्टारका सुनिल कुवरले आर्मी खेलाडीलाई हात हालेपछी रेफ्री कबिन्द्र महर्जनले उनलाई सिधै रातोकार्ड दिएका थिए ।
जितसंगै समूह 'बी' बाट आर्मीले ३ खेलबाट ९ अंक जोडेको छ । थ्री स्टारको यो दोस्रो हार हो । थ्री स्टारले ३ खेलबाट १ अंक जोडेको छ । र, थ्री स्टारको क्वाटरफाइनल यात्रा कठिन बनेको छ ।
यस समूहमा एपिएफले २ खेलबाट ४ अंक जोडेको छ । यस्तै मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबले १/१ अंक जोडेको छ । यस समूहबाट तीन टिम क्वाटरफाइनलमा पुग्नेछन् ।