काठमाडौं । राजीव श्रेष्ठ राफ्टिङ्ग एन्ड क्यानोइङ संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार संघको पाँचौं चुनावी साधारण सभाले राजीव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
यसअघि श्रेष्ठ करिब ३ वर्ष संघको कार्यवाहक अध्यक्षको भूमिकामा थिए । राफ्टिङ्गमा आउनुअघि श्रेष्ठ नेपाल बक्सिङ संघ (अहिले नेपाल बक्सिङ महासंघ) को नेतृत्वमा थिए ।
बक्सिङ संघमा श्रेष्ठ सदस्य, सह–महासचिव र महासचिव हुँदै एक कार्यकाल अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका थिए । श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका पूर्व सह–महासचिव हुन् ।
उनी यसअघि राफ्टिङ्ग संघबाट प्रतिनिधि बनेर ओलम्पिक निर्वाचनमा सहभागी समेत भएका थिए ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद जोशी तथा उपाध्यक्षद्वयमा गोविन्दप्रसाद थपलिया र महेन्द्रसिंह थापा रहेका छन् ।
सुदीपराज गौतमले महासचिव, सुनिल अर्यालले सचिव र महेश थापाले कोषाध्यक्षको जिम्मेवारी पाए । रिता अधिकारी, दीपक भुजेल, निमबहादुर मगर, कुमार श्रेष्ठ, रुनिका डंगोल र कौशिला प्रधान सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
साधारण सभामा ४ प्रदेशबाट ८ तथा केन्द्रबाट २४ गरी जम्मा ३२ प्रतिनिधिको उपस्थिति रहेको जनाइएको छ ।