फुटबल उनको क्षेत्र होईन । तर उनी फुटबललाई साह्रै माया गर्छन् । उनी अर्थात सुरेश हमाल, सुदुरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष ।
फुटबलका लागि नेपालको पुर्वी क्षेत्र उर्वर भुमी हो । राष्ट्रिय टिमका अधिकांश अनुहार पुर्वकै बाहुल्यता देखिन्छ । मोफसलमा हुने विभिन्न नकआउट प्रतियोगिता समेत पुर्वमानै धेरै सञ्चालन हुन्छन् । पुर्वको फुटबल संस्कृती अन्य क्षेत्रको भन्दा फरालिको छ ।
तर सुदुरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष हमाल पुर्वमा फक्रिएको फुटबल संस्कृतिलाई पश्चिममा सार्न लागिपरेका छन् । उनले प्रत्येक बर्ष खप्तड गोल्डकप आयोजक गर्दै आएका छन् । जुन मोफसलकै सर्वाधिक ठुलो पुरस्कार राशीको प्रतियोगिता समेत हो । जहाँ घरेलु फुटबलका महारथी क्लबदेखि विदेशी टिमले प्रतिस्पर्धा गर्ने गर्छन् । हिजो (शनिबार) मात्र प्रतियोगिताको तेस्रो संस्करण सकिएको छ ।
उनै हमालसंग पश्चिमको फुटबल संस्कृती, प्रतियोगिता अयोजनाको कठिनता र पश्चिम क्षेत्रमा फुटबलको सम्भावनाको बिषयमा खेलपाटीकर्मी दिपेश तिमलसिनाले कुराकानी गरेका छन् ।
खप्तड गोल्डकप सुरुवात कसरी गर्नुभयो ?
गत बर्षमात्र हिमालयन क्लबले एक्काईसौँ संस्करण मनाएको थियो । क्लबको बार्षिकोत्सवमा भारतको टिम हुँदै दाङ र रुपन्देहीसम्मको टिम ल्याएर प्रतियोगिता गरायौँ । प्रतियोगिता गाउँमै भयो । मैले गोजीको लाखौँ रुपैया खर्च गरेर पनि कुनै प्रचार पाएन ।
गाउँबाट विस्तारै म धनगढीमा आएको हुँ । बिजे स्पोर्टससंग जोडिए । धनगढीमा फुटबललाई राम्रो गराउन व्यक्तिगत खर्चमा समेत क्लब चलाए ।
सुरुवातबाट फुटबलमा काम गर्ने ईच्छा थियो । क्लबलाई नेतृत्व गरेर अघि बढे । त्यसपछि मैले गाउँबाट १८ खेलाडी लिएर आफ्नै घरमा बसाए । ७–८ बर्ष क्लबको दौरान भारतको लखनउ, धनगढीमा हुने सम्पुर्ण प्रतियोगितामा जित्दै गएका थियौ । उत्साह बढ्दै गयो ।
लगत्तै छैटौ राष्ट्रिय खेलकुद धनगढीमा हुने भयो । त्यसमा अधिकांश खेलाडी क्लबकै थिए । हामी च्याम्पियन पनि बन्यो । त्यसपछि हामी सबै साथीहरु छलफलमा बस्यौ । सुदुरपश्चिमका सबैलाई समेट्न सकियोस भनेर २०७३ साल भदौमा क्लब गठन गर्यौ ।
सुदुरपश्चिमको प्रतिभाले खेल्न पाओस र अन्य नकआउट प्रतियोगितामा खेल्न पाउने आशमा सुदुरपश्चिम ११ को टिम तयार बनायौ । त्यो समय अन्य चार विकास क्षेत्रमा लगातार फुटबलका गोल्डकप भईरहेका थिए । तर सुदुरपश्चिममा फुटबलको ठुलो प्रतियोगिता भएको थिएन । क्लब गठन लगत्तै गोल्डकप आयोजना गर्ने निर्णय गरियो । २०७३ साल पौष २१ गते खप्तड गोल्डकप आयोजना गर्ने निर्णय गरेका थियौ ।
पछिल्लो समय धनगढीलाई क्रिकेटको सहर भनेर चिनाउने प्रयास भईरहेका छ, तपाई चाँहि फुटबलमा आकर्षित हुनुको कारण ?
म सानैबाट फुटबल मन पराउने हुँ । फुटबललाई माया गर्ने मान्छे हुँ । धनगढीलाई फुटबलमा अगाडी बढाउन पर्छ भनेर सुरु गरिएको हो ।
सुदुरपश्चिममा फुटबलको प्रतियोगिता आयोजना गर्न कत्तिको गाह्रो छ ?
गाह्रो छ । मलाई २०७३ सालसम्म एन्फा कहाँ छ भन्ने थाहा थिएन । गाउँबाट धनगढी छिरेको हो । गोल्डकप सुरु गर्न लागेका थियौ । त्यो समय गणेश चन्द एन्फाको केन्द्रिय सदस्य हुनुहुन्थ्यो । उहाँकै सहयोगमा एन्फासंग पुग्न सफल भयौ । प्रतियोगिता आयोजना गर्न गाह्रो थियो । जिल्लाबाट सहयोग भईरहेको थिएन । तत्कालिन अध्यक्ष नरेन्द्र श्रेष्ठसंग छलफल गरेर पहिलो गोल्डकप गर्न सफल भयौ ।
पहिलो संस्करणमा हामीसंग कुनै प्रायोजक थिएनन् । साथीहरुले खल्तीको पैसा हालेका थिए । प्रतियोगितामा ४६ लाख खर्च भएको थियो । १० लाख टिकटबाट आएको थियो । बाँकी सबै आयोजकमा बसेका साथीहरु मिलेर जिम्मेवारी लिएका थियौ ।
दोस्रो संस्करणमा केही सहज भयो । प्रयोजकहरु आए । धेरै सजिलो भयो । तेस्रो संस्करणमा अझ राम्रो बनेको छ । युवाको टिम छ । समस्यासंग जुध्ने राम्रा केटाहरु छन् । आर्थिक र अन्य बिषयमा सहयोगका लागि तत्पर हुन्छन् । आर्थिक रुपमा केही समस्या छ तर सबै मिलिरहेको छ ।
ठुलो धनराशीको प्रतियोगिता भनेर प्रचार त भयो तर व्यवस्थापन गतिलो भएन भन्ने आरोप छ नि ?
त्यो मलाई लाग्दैन । मैले अन्य ठाउँमा प्रतियोगिता हेरेको छु । भत्ता, होटल व्यवस्थापनमा केहि कमजोरी भएका होलान । सबैको चित्त बुझाउन गाह्रो हुन्छ, केहि कमि कमजोरी देखाईहाल्छन् । हामीले आफ्नोतर्फबाट गरेका छौ । अध्यक्षले सबैलाई भेट्न नसकेको होला तर जिम्वेवारी अनुसार काम गरेका छौ ।
खप्तड गोल्डकपले सुदुरपश्चिमको फुटबल संस्कृतिमा के फरक पार्छ भन्ने लाग्छ ?
सुदुरपश्चिममा राम्रो खेलाडी हुँदा समेत आफ्नो प्रतिभा देखाउँन पाएका छैनन् । हामीले तीन वटा संस्करणको प्रतियोगिता सञ्चालन गर्दा ११ खेलाडीले विभिन्न क्लबबाट ए डिभिजन लिग खेल्न पाएका छन् ।
पहिलो पटक सुदुरपश्चिमका खेलाडीले लिग खेल्न पाए । त्यो खप्तड गोल्डकपकै देन हो । अहिले हाम्रा खेलाडीले विभिन्न क्लबमा मासिक ५० हजार रुपैयाँ सम्म पाउने गरेका छन् । यो हाम्रा लागि खुसीको कुरा हो । हाम्रो 'बी' टिम समेत छ । हामीलाई बी डिभिजन लिग खेल्न खेलाडीको माग आउन थालेको छ । यो सबै खप्तड गोल्डकपको देन हो । सुदुरपश्चिमका फुटबल खेलाडी विस्तारै व्यवसायीक बन्दै गएका छन् ।
सुदुरपश्चिमको क्षेत्रमा स्तरीय खेल मैदान छैनन । पुर्वाधारण विकासका लागि किन अहिलेसम्म पहल नगर्नुभएको हो ?
पहल गरेका छौँ । हामीले सुदुरपश्चिम ११ को छुट्टै मैदान चाहिन्छ भनेर माग गरेका छौँ । सुदुरपश्चिम ११ टिमका लागि हामी नेता तथा व्यवसायीक समुहसंग पनि गयौ । तर कतैबाट सहयोग भएन । आजसम्म नेत्री आर्जु राणाले यथेष्ट सहयोग हामीलाई गर्नुभएको छ । जग्गा भेटिएमा लागेको खर्च ब्यहोर्ने उहाँले बचन दिनुभएको छ ।
तेस्रो संस्करणसम्म आईपुग्दा खप्तड गोल्डकपको कस्तो खालको प्रभाव देख्नुभएको छ ?
धनगढीमा फुटबल बुझेका धेरै छैनन् । फुटबलमा गरेको लगानी र प्रायोजनले कस्तो फाईदा आउछ भन्ने थाहानै छैन । उद्योगी व्यवसायीबाट हुन पर्ने सहयोग भएको छैन । यहाँ मारवाडी समुदायको बाक्लो उपस्थिती छ । तर उहाँहरु आउनुभएको छैन । एक दिन सबै उद्योगी व्यवसायीले खप्तड गोल्डकपको महत्व बुझ्नु हुनेछ ।
खप्तड गोल्डकपले सुदुरपश्चिम क्षेत्रलाई के फाईदा पुगेको छ ?
होटलकै कुरा गरौँ । एघार वटा जति टिम राखेका छौ । होटललाई प्रत्यक्ष फाईदा भएको छ । विदेशी खेलाडीदेखि सबै यहाँ आएका छन् । रिक्सादेखि सबैको चाप बढेको छ । व्यापारिक मात्र नभएर यहाँको पर्यटकिय क्षेत्रको विकासमा समेत गोल्डकपले सहयोग पुर्याएको छ ।
तेस्रो संस्करणको प्रतियोगिताको समिक्षा कसरी गर्नुहुन्छ ?
सबै ठिक भयो । तर अपेक्षा अनुसारको दर्शक पाएनौ । एन्फाले दिएको समयमा प्रतियोगिता सक्न पर्ने बाध्यता थियो । अघिल्ला संस्करण हामीले पुसमा गरेका थियौ । हामीले प्रतियोगितालाई महोत्सवको रुपमा लिएका छौ । विद्यार्थीको परिक्षा, व्यापारिक महोत्सवले समेत दर्शकको संख्यामा थोरै कमि आएको हुन सक्छ ।
सुदुरपश्चिममा फुटबल विकासको लागि के योजना छ ?
एकेडेमी खोल्ने सोचमा छौँ । आर्थिक अवस्था निकै महत्वपुर्ण पाटो हो । हामी चाँडै एकेडेमी सुरु गर्छौ । क्लबको एकेडेमी बन्नेछ । तत्काल १८ खेलाडीलाई तलब दिएर अनुबन्धन गर्दैछौ । विदेशबाट प्रशिक्षक ल्याएर टिम अघि बढाउने योजना बनाएका छौ ।