काठमाडौं। भुटानलाई पराजित गर्दै बंगलादेश साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
गोल्डेन जुब्ली स्टेडियममा आइतबार सम्पन्न समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा बंगलादेशले ३–० को सानदार जित हात पारेको हो।
जितसँगै बंगलादेशले दुई खेलबाट चार अंक पुर्यायो। बंगलादेशले पहिलो खेलमा माल्दिभ्ससँग २–२ को बराबरी खेलेको थियो।
अब यो समूहबाट सेमिफाइनल पुग्न भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ। तर, भुटानलाई भने जितको विकल्प हुनेछैन।
बंगलादेशलाई जित दिलाउन मोहम्मद मुर्सेद अली, श्री सुमोन सोरन र नजमुल हुडाले गोल गरे।
खेलको १३औं मिनेटमै मोहम्मदको गोलमार्फत बंगलादेशले सुरुआती अग्रता लिएको थियो। २८औं मिनेटमा श्रीले उक्त अग्रता दोब्बर बनाए।
दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा हुडाले अर्को गोल थप्दै ३–० को सानदार जित पक्का गरे। हुडाको जारी प्रतियोगितामा यो दोस्रो गोल हो। माल्दिभ्सविरुद्धको खेलमा पनि उनले गोल गरेका थिए।