काठमाडौं। साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ।
नेपालले गोल्डेन जुब्ली स्टेडियममा केही समयपछि श्रीलंकासँग खेल्दैछ। नेपाली टोली ३–५–२ को फर्मेसनमा मैदान उत्रिनेछ। नेपालको गोलपोस्ट भक्तबहादुर परियारले सम्हाल्ने छन्।
यस्तै, कप्तान राम थापा, प्रशान्त मोक्तान र मदन पौडेलले डिफेन्स सम्हाल्ने छन्। यस्तै, सरोज दर्लामी, लछु थापा, सुजन डंगोल, धर्मेन्द्र कुँवर र सुवास बमले मिडफिल्डर सम्हाल्ने छन्।
यस्तै. विजय उराव र रञ्जित लामाले आक्रामण सम्हाल्नेछन्। नेपाल श्रीलंका हालसम्म दुईपल्ट मात्रै प्रतियोगितामा आमुन्नेसामुन्ने भएका छन्। ती दुई खेलमा नेपालले अहिलेसम्म हार बेहोर्न परेको छैन।
सन् २०२२ मा भएको साफ यु–२० च्याम्पियनसिपमा भएको पहिलो भेटमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। उक्त खेलमा आयुष घलान, कृतिशरत्न छुन्जु र मनांग्य नकर्मीले गोल गरेका थिए।
गत वर्ष घरेलु मैदानमै भएको प्रतियोगितामा पनि नेपालले श्रीलंकामाथि १–० को कठिन जित निकालेको थियो। उक्त जितमा नीरन्जन धामीले गरेको गोल नै निर्णायक बनेको थियो।
साफ यु–२० च्याम्पियनसिपकै नामबाट भएको उक्त प्रतियोगितामा नेपाल फाइनल पुग्दा श्रीलंका भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो। उपाधि जित्ने लक्ष्यसाथ भारत पुगेको नेपाली टोली यही लयलाई कायम राख्दै सुखद् सुरुआत गर्ने तरखरमा हुनेछ।