काठमाडौं। च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलले अग्रता लिएको छ।
आइतबार प्रिमियर लिगको शीर्ष पाँच प्रतिस्पर्धी चेल्सीविरुद्ध २–० को जितसँगै न्यूक्यासल आगामी सिजन युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा फर्किने सम्भावनानजिक पुगेको हो।
सिजनको अब दुई खेल मात्र बाँकी रहँदा म्यानचेस्टर सिटीलाई पछि पार्दै न्यूक्यासल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ३६ खेल खेलेको न्यूक्यासलको ६६ अंक छ। समान खेलबाट सिटीको ६५ अंक छ।
स्यान्ड्रो टोनाली र ब्रुनो गिमाराइजले सेन्ट जेम्स पार्कमा भएको खेलमा चेल्सीविरुद्ध गोल गरे। यो खेल च्याम्पियन्स लिग स्थानको लागि चलिरहेको ६ टिमबीचको प्रतिस्पर्धामा निर्णायक सावित हुन सक्छ।
टोनालीले खेलको दोस्रो मिनेटमै नजिकबाट गोल गर्दै न्यूक्यासललाई अग्रता दिलाए। चेल्सीका निकोलस ज्याक्सनले ३५औं मिनेटमा स्वेन बटम्यानमाथि गरेको फाउलका कारण रातो कार्ड पाए।
दोस्रो हाफमा चेल्सीले बराबरी गोलको लागि दबाब बनाए पनि असफल रह्यो। तर, ब्रुनो गिमाराइजको ९०औं मिनेटमा डिपिङ सटमार्फत गोल गर्दै चेल्सीको आशामा पूर्णविराम लगाइदिए।
यस जितसँगै न्यूक्यासलले सिटीलाई एक अंकले पछि पार्दै तेस्रो स्थान ओगटेको छ। सिटीले शनिबार पुछारमा रहेको साउथह्याम्प्टनसँग गोलरहित बराबरी खेलेको थियो।