काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले विभागीय टिम एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा संकटाविरुद्ध एपीएफले १ - ० को अग्रता बनाएको छ । खेलको २३ औं मिनेटमा युवराज खड्काले काउन्टरमा गोल गर्दै एपीएफलाई १ - ० को अग्रता दिलाए ।
एपीएफविरुद्ध बल पोजिसनमा पकड जमाएपनि संकटाले गोल गर्न सकेनन् । खेलको आठौं मिनेटमा संकटाका म्याक्स्वेलले डिबक्स भित्रबाट हानेको प्रहार बाहिरियो । यस्तै खेलको नवौं मिनेटमा म्याक्स्वेलले डिबक्स भित्रबाट हानेको बल एपीएफका गोलकिपर राजु योगीले पन्च गर्दै बचाए ।
खेलको १७ औं मिनेटमा संकटाका सेड्रीक अबाले वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार एपीएफका राजु योगीले उत्कृष्ट बचाउ गरे ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
ठुलो क्लबलाई पछाडी पार्दै उपविजेता बनेको संकटाले अन्तिम खेललाई सेलिब्रेशन गेमको रुपमा लिनेछ । औषत टोली बनाएर लिगमा प्राप्त गरेको सफलताले संकटा आफैपनि दंग छ ।
विभागीय टिम पुलिसलाई पछाडी पार्दै टप फाईभमा पर्न सफल एपीएफले समेत जित सहित लिगको सुखद अन्त्य गर्न चाहन्छ ।
सुरुवातबाटै गोलको खडेरी ब्यहोर्दै आएको एपीएफले अन्तिम समयमा उत्कृष्ट खेल प्रर्दशन गर्दै लिगको शीर्ष पाँचमा आफुलाई अटाउन सफल भएको थियो ।
दोस्रो स्थानको संकटाको २८ अंक छ । एपीएफ २० अंक सहित पाँचौ स्थानमा छ ।