काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहज जितसंगै पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको अन्त्य गरेको छ ।
लिगको आफ्नो अन्तिम खेलमा आर्मीले आइतबार मछिन्द्र क्लबलाई ३ - ० गोल अन्तरले पराजित गरेको हो ।
हल्चोकस्थित एपीएफ मैदान आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले दुई गोल गरे । यस्तै टंक बस्नेतको नाममा एक गोल रह्यो ।
मछिन्द्रविरुद्ध खेलको २९ औं टंकले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ - ० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको ६२ औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा भरतले पेनाल्टीमा गोल गर्दै आर्मीलाई ३ - ० को सहज जित दिलाए ।
जितसंगै आर्मीले चौथो स्थानमा रहेर लिग सकाएको छ । रेलिगेसन नहुने लिगमा आर्मीले २५ अंक जोडेको छ ।
मछिन्द्र भने ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ । र, मछिन्द्रलाई कम्तिमा १ ऋण अंक लाग्ने पक्का भएको छ ।