एजेन्सी । रोबर्ट लेवान्डोस्की चम्किदा जर्मन क्लब बायर्न म्युनिख फराकिलो नतिजा सहित च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा बायर्नले प्रिमियर लिग क्लब चेल्सीलाई ४–१ ले हराएको हो ।
बायर्न समग्रमा ७–१ को नतिजा सहित प्रतियोगिताको अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।
स्टामफोर्ड ब्रिजमा भएको पहिलो लेगको खेलमा घरेलु टोली चेल्सीमाथि बायर्नले ३–० को जित दर्ता गराएको थियो ।
दोस्रो लेगको खेलमा बायर्नको घरेलु मैदान एलिनाज एरिनामा भएको थियो । खेलको दशौं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी गोलमार्फत बायर्नलाई अग्रता दिलाएका थिए ।
इभान पेरिसिकले २४ औं मिनेटमा बायर्नको अग्रतालाई दोब्बर बनाउने काम गरेका थिए । चेल्सीका टोमी अब्राहमले ४४ औं मिनेटमा गोल गर्दै खेललाई २–१ मा झारेका थिए ।
म्यानुअल नोयरको सानो गल्तीका फाईदा उठाउँदै अब्राहमले चेल्सीका लागि अवे गोल गरेका थिए ।
दोस्रो हाफमा बायर्नले थप दुई गोल गर्यो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कोरेन्टिन टोलिसोले ७६ औं मिनेटमा घरेलु टोलीका लागि तेस्रो गोल गरे ।
लेवानडोस्कीले ८३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । उसले यस सिजन मात्र ४४ खेलमा ५३ गोल गर्न सफल भएका छन् ।
शनिबारको जितमा लेवान्डोस्कीले दुई गोल गर्नुका साथै थप दुई गोलका लागि अवसर सिर्जना गरिदिए ।
बायर्नले सेमिफाईनल प्रवेशका लागि पोर्चुगलको लिस्वोनमा बार्सिलोनासंग प्रतिस्पर्धा गर्नेछ ।