काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले विश्वकप छनोट अन्तर्गतको खेलले नेपाली फुटबलको स्तर जाँच्न सहयोग पुग्ने बताएका छन् ।
इन्डोनेसियामा व्यवसायीक फुटबल खेलिरहेका रोहितले दोस्रो चरणमा नेपालले निकै बलिया राष्ट्रसँग खेल्नुपर्ने बताउँदै विश्वकप छनोटले नेपालको स्तर जाँचिने बताए ।
‘विश्वकप छनोटमा हाम्रो स्तर कस्तो हो भन्ने कुरा पुष्टि हुन्छ । अष्ट्रेलिया लगायत देशहरु शीर्ष स्तरका छन् । उनीहरुको स्तर धेरै राम्रो छ,’ राष्ट्रिय टिममा सामेल हुन बिहिबार मात्र नेपाल फर्किएका रोहितले खेलपाटीसँग भने, ‘सबै टिम राम्रा छन् । हामीले आफुलाई प्रमाणित गर्नुपर्ने समय आएको छ । यसले भविष्यका लागि राम्रो गर्छ । त्यसैले छनोटमा राम्रो गर्नुपर्ने चुनौती छ ।’
इन्डोनेसियाको पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका रोहित नेपालले खेलेको पछिल्लो मैत्रीपूर्ण खेलमा भने सहभागी हुन पाएनन् ।

विदेशी लिगमै व्यस्त हुने भएकाले उनले नेपाली टिमसँग प्रशिक्षण गर्न समेत पाएका छैनन् । तर, त्यसले आफ्नो र टिमको प्रर्दशनमा कुनै फरक नपार्ने रोहितको भनाई छ ।
‘राष्ट्रिय टिमसँग तयारी गर्न पाएको छैन । तर, प्रशिक्षकको रणनीति बुझेको छु । त्यसैले गर्दा मलाई सजिलो हुन्छ ।’ उनले भने ।

रोहित सम्मिलित क्लब पर्सिजाले यस सिजन इन्डोनेसियाको लिग वानमा खासै राम्रो नतिजा निकाल्न सकेको छैन । गत वर्षको लिग विजेता पर्सिजा यस सिजन खराब लयबाट गुज्रिरहेको छ । राष्ट्रिय टिमका भरपर्दा मिडफिल्डर रोहितले लिगको सुरुवातमै केही खेलाडी घाईते हुदाँ नतिजामा असर परेको बताए ।
‘राम्रो खेलाडी सुरुमै घाइते भए । घाईते खेलाडीलाई सहयोग गर्ने कोही भएन । खेल हारेका छैनौ । तर, जित्न सकेका छैनौ,’ उनले भने, ‘दोस्रो चरणमा राम्रो गर्ने आशा छ । घरेलु मैदानमा धेरै खेल्न पाएका छैनौ । त्यसपछि केही होला ।’

नेपालले भदौ १९ गते छनोटको पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह 'बी'मा रहेको नेपालले बलिया प्रतिद्वन्दी अष्ट्रेलिया, जोर्डन, कुवेत सहित चाईनिज ताईपेसँग खेल्नेछ ।
घरेलु मैदान तयार नभएको अवस्थामा नेपालले सुरुवातमा अवे खेल खेल्नेछ । त्यसपछिका बाँकी खेल काठमाडौंको दशरथ रंगशालामा खेल्नेछ ।

यो पनि :
विश्वकप छनाेट खेल्ने राष्ट्रिय फुटबल टिमकाे घाेषणा