काठमाडौं । पहिलो संस्करणको उप-मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ ।
बिहिबार भएको उपाधि भिडन्तमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले हराउँदै विराटनगरले उपाधि उचालेको हो ।
उपाधिसंगै विराटनगरले ५ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बाह्रबिसेले ३ लाखमा चित्त बुझायो ।

हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा विराटनगर सफल भयो ।
विराटनगरकी रेखा पौडेल, ईमा राई, बिध्या राना र मनमाया लिम्बुले गोल गरिन् ।
बाह्रबिसेकी रुबिना पहरीले मात्र गोल गरिन् । सुस्मा तामाङ र अनु राईले गोल गर्न सकिनन् ।
पेनाल्टीअघि खेलको २७ औं मिनेटमा बाह्रबिसेका सम्झना लावतीले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् । तर, खेलको ४७ औं मिनेटमा जमुना मगरले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएकी थिईन् ।

प्रतियोगितामा बाह्रबिसेले वालिङ नगरपालिका र विराटनगरले चौदण्डी गढीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए ।
अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
