काठमाडौं । राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबलको फाइनलमा विराटनगर महानगरपालिका र बाह्रबिसे नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा विराटनगरले चौदण्डी गढीलाई ३-० गोल अन्तरले पराजित गर्दै बाह्रबिसेसँगको भेट पक्का गरेको हो ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा विराटनगरलाई जित दिलाउन जमुना गुरुङ, सावित्री मगर र ईमा राईले एक एक गोल गरिन् ।
खेलको ३१ औं मिनेटमा जमुनाले गोल गर्दै विराटनगरलाई सुरुवाती अग्रता दिलाएकी थिईन् । ५१ औं मिनेटमा सावित्रीले गोल गर्दै विराटनगरको अग्रता २-० को बनाईन् । त्यसपछि खेलको ६५ औं मिनेटमा ईमाले गोल गर्दै विराटनगरलाई ३-० को जित दिलाईन् ।
अब विराटनगरले उपाधिका लागि बिहिबार बाह्रबिसेसँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा बाह्रबिसेले वालिङ नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको थियो ।
बाह्रबिसेको जितमा पार्वती घलेले २ गोल गरिन् । यस्तै रजनी श्रेष्ठले एक गोल गरिन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख पाउने छ भने उपविजेताले ३ लाख पाउनेछ ।
यस्तै फेयर प्ले टिमले ५० हजार र सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।