काठमाडौं । नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार चेन्नईयिन एफसीसंग प्रतिस्पर्धा गर्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङले भारतको सुपर लिग क्लब चेन्नईयिनको सामना गर्नेछ । मनाङ र चेन्नईयिनबीचको खेल अपरान्ह ४ : १५ मा सुरु हुनेछ ।
एएफसी कपबाट बाहिरिसकेको मनाङको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । समूह 'ई' मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ ।
तर, मनाङ घरेलु मैदानमा सान्त्वना जित निकाल्दै प्रतियोगितामा राम्रो छाप छाड्ने लक्ष्यसहित मैदान उत्रनेछ । चेन्नईयिनसंगको खेलअघि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अन्तिम खेल जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
'हामी घरेलु मैदानमा भोली एएफसी कपको अन्तिम खेल खेल्दै छौँ,' प्रशिक्षक गुरुङले प्रि म्याच कन्फरेन्समा भने, 'हाम्रो मुख्य उदेश्य हाम्रो गर्ने र हाम्रो छाप छाडेर प्रतियोगिताको अन्त्य गर्ने रहेको छ ।'
गत साता बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसंग ५-० गोल अन्तरले पराजित हुँदै मनाङ प्रतियोगिताबाट बाहिरिएको थियो ।
प्रशिक्षक गुरुङले उक्त फराकिलो हारले टिमको मनोबल नघटेको बताए । उनले प्रतियोगिताबाट धेरै कुरा सिकेको समेत बताए ।
'अबहानीविरुद्धको हाम्रो अन्तिम खेलले हाम्रो आत्मविश्वास घटेको छैन । हाम्रो तीनै प्रतिद्वन्दी निकै व्यवसायिक थियो । हामीले एएफसी कपको यात्रामा तिनीहरुबाट धेरै कुरा सिकेका छौं,' प्रशिक्षक गुरुङले भने ।
घरेलु मैदानमा मनाङ अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । गत बैशाखमा मनाङ चेन्नईयिनसंग उसैको मैदानमा २-० ले पराजित भएको थियो ।
चेन्नईयिन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुग्ने प्रयासमा हुनेछ । चेन्नईयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ ।
'मनाङविरुद्ध उसैमा मैदानमा हामीले कुनै दबाब महसुस गरेको छैनौं । हामी दुई पटकको लिग च्याम्पियन हौं,' चेन्नईयिनका प्रशिक्षक जोन चार्लेसले भने, 'अर्को चरणमा पुग्न हामीलाई जित आवश्यक छ । हामी खेल जित्ने ढुक्क छौं ।'