एजेन्सी । ब्राजिली स्टार नेयमार स्पेनिस महारथी क्लब बार्सिलोनासंग अनुबन्धनको नजिक पुगेका छन् । उनले क्लबसंग पाँच बर्षको अनुबन्धन सम्झौता गर्ने तयारी गरेका हुन् ।
उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीको बसाईलाई बिट मार्दै पुरानै क्लब बार्सिलोना फर्कने निर्णय गरेका छन् । स्पेनिस सञ्चार माध्यमले बताए अनुसार दुवै क्लबबीच नेयमारको बिषयलाई लिएर मौखिक सहमती बनेको छ ।
बार्सिलोना जाने बिषयमा नेयमारले तिव्र ईच्छा देखाएका थिए । दुवैपक्ष नेयमारको बिषयलाई लिएर सहमती नजिक पुगेका हुन् ।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुको प्रस्तावमा नेयमारले तुरुन्तै सहमती जनाए लगत्तै उनी बार्सिलोना फर्कने निश्चित भएको हो ।
नेयमार आफ्नो आधा तलब घट्ने शर्तमा समेत बार्सिलोना फर्कन तयार भएका छन् । उनी सन् २०१७ मा क्लब फुटबलका सबै भन्दा महङ्गा खेलाडीको रुपमा फ्रान्सेली क्लब पीएसजी गएका थिए ।
नेयमारले बोकेको चोट र उनको व्यवहारबाट असन्तुष्ट रहेको पीएसजी अन्तिम समयमा क्लब फुटबलका महङ्गा खेलाडीलाई फिर्ता पठाउन तयार देखिएको हो । पीएसजीसंग अझै केलियन एम्बाप्पे र ईडिन्सन काभानी जस्ता हाईप्रोफाईनलका खेलाडी रहेका छन् ।
पैतलामा लागेको चोटका कारण नेयमारले कोपा अमेरिका फुटबल गुमाएका थिए ।
उनको आगमनसंगै बार्सिलोनाले आफ्नो फरवार्ड लाईन अझ बलियो बन्ने अपेक्षा गरेको छ । बार्सिलोनाका ड्रेसिङ रुम समेत अहिले नेयमारलाई स्वागत गर्न आतुर छ ।