एजेन्सी । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलमा क्यामरुनका खेलाडीले गरेको व्यवहारको अनुसन्धान हुने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले क्यामरुनी खेलाडीले इंग्ल्याण्डविरुद्ध गरेको व्यवहारको अनुसन्धान गर्ने जनाएको छ । फिफाले अनुसन्धानपछि कारवाहीबारे जानकारी दिने जनाएको छ ।
प्रतियोगिताको अन्तिम १६ अन्तर्गतको खेलमा क्यामरुन इंग्ल्याण्डसंग ३-० ले पराजित भएको थियो ।
उक्त खेलमा क्यामरुनी खेलाडीले इंग्ल्याण्डका खेलाडीहरुलाई खराब ट्याकल गर्नुका साथै रेफ्रीको निर्णयहरुमा आपत्ति जनाएका थिए ।
इंग्ल्याण्ड र क्यामरुनबीचको खेलपछि धेरै फुटबल विश्लेषकहरुले क्यामरुनी टिमको विरोध गरेका थिए । क्यामरुनी खेलाडीले फुटबल र खेल भावनाविपरित कार्य गरेको उनीहरुले आरोप लगाएका थिए ।