काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन सन्जु सेनले दुई गोल गरे । जावलाखेलका लागि कप्तान साचु गुरुङले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा सन्जुले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३० औं मिनेटमा साचुले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । तर, खेलको ९० औं मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए ।
जितसंगै समूह 'सी' बाट पुलिसले ३ अंक जोडेको छ । जावलाखेलले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

