काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनोटको तयारी पुन: सुरु गरेको छ । पछिल्लो समय लगातार तयारी गर्दै आएको फुटबल टिमले आईतबारबाट प्रशिक्षण सुरु गरेको हो ।
मुख्य प्रशिक्षक योहान कालिन देश बाहिर रहेकाले सहायक प्रशिक्षक किरण श्रेष्ठ लगायतको टिमले नेपाली टिमलाई प्रशिक्षण दिनेछ ।
सहायक प्रशिक्षक श्रेष्ठले मुख्य प्रशिक्षक कालिनको निर्देशन र सल्लाहा अनुसारनै खेलाडीको अभ्यास सत्र अघि बढेको बताएका छन् ।
'प्रशिक्षकसंग कसरी प्रशिक्षण अघि बढाउने भन्ने बिषयमा सल्लाह भएको छ । सोही अनुसार प्रशिक्षण अघि बढ्छ ।' उनले खेलपाटीसंग भने ।
करिब तीन हप्ता अघि चाईनिज ताईपेसंगको मैत्रीपुर्ण खेलपछि मुख्य प्रशिक्षक कालिन स्वदेश फर्किएका थिए । उनी जुलाई ६ मा मात्र नेपाल आउनेछन् ।
'मुख्य प्रशिक्षक नहुदाँ करिब दुई हप्ता खेलाडीको शारिरिक अभ्यास हुनेछ,' श्रेष्ठले भने, 'सुरुको हप्ता खेलाडीलाई शारिरिक अभ्यासमा केन्द्रित गरिनेछ ।'
प्रारम्भिक चरणमा ३४ खेलाडीलाई राष्ट्रिय टिमको नियमित अभ्यासमा बोलाईएको छ । जसमा चार नयाँ अनुहार रहेका छन् । नयाँ अनुहारमा संजोक राई, अमित तामाङ, बिमल पाण्डे र त्रीदेभ गुरुङ छन् ।
अन्य ३० जना पुरानै अनुहार रहेका छन् ।
गोलकपिरमा विकेश कुथु, एलन न्यौपाने, बिशाल श्रेष्ठ, किरण चेम्जोङ छन् । अन्य खेलाडीमा सरोज दाहाल, दिनेश राजवंशी, रजिन धिमाल, सुमन अर्याल, अजित भण्डारी, रवि सिलवाल, अनन्त तामाङ, विकाश खवास रहेका छन् । त्यस्तै, रवि पासवान, सुनिल वल, बिक्रम लामा, सन्तोष तामाङ, सुबास गुरुङ, मिक्छेन तामाङ, तेज तामाङ, नितिन थापा, नवयुग श्रेष्ठलाई अभ्यासमा बोलाईएको छ ।
त्यस्तै विराज महर्जन, देबेन्द्र तामाङ, सुजल श्रेष्ठ, बिशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, विमल राना, कमल श्रेष्ठ र अभिषेक रिजाल छन् ।
सहायक प्रशिक्षक श्रेष्ठले मैदान हेरेर अभ्यासको समय निर्धारण गरिएको बताए । पहिलो दिन फुटबल टिमले लगनखेलमा अभ्यास सुरु गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ललित स्मृति यू -१८ च्याम्पियनसिप सञ्चालन भएकाले लगनखेलमा राष्ट्रिय फुटबल टिमको अभ्यास राखिएको हो ।
'बिहान ८ देखी १० सम्म र अपरान्ह ३ देखी ५ बजेसम्मको समयमा आवश्यक मैदानमा अभ्यास सुरु गर्नेछौ ।' उनले भने ।
नेपालले विश्वकप छनोट प्रतियोगितालाई मुख्य आधार बनाएर राष्ट्रिय टिमलाई निरन्तर अभ्यासमा राख्दै आएको छ । नेपालले जुनको पहिलो साता मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको थियो ।
त्यसअघि नेपालले कतारसंग मैत्रीपूर्ण खेल खेलेको थियो ।