काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लब कुपन्डोललाई २-० गोल अन्तरले पराजित गर्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन विशाल बस्नेत र जय अधिकारीले एक एक गोल गरे ।

जितसंगै समूह 'बी' बाट आर्मीले ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

