काठमाडौं । विराटनगर महानगरपालिकाले काठमाडौंमा जारी अन्तर नगरपालिका उपमेयर कप फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा आइतबार विराटनगरले पनौती नगरपालिकालाई १०–० गोलको भारी अन्तरले पराजित गरेको हो ।
विराटनगरको जितमा राष्ट्रिय टिमकी खेलाडी समेत रहेकी रेखा पौडेलले ह्याट्रिकसहित पाँच गोल गरिन् । रेखाको यो लगातार दोस्रो ह्याट्रिक हो । यस्तै सावित्री मगरले पनि ह्याट्रिक गरिन् । त्यस्तै विराटनगरका लागि सपना मगर र मनमाया लिम्बुले एक एक गोल गरिन् ।
यो जितसँगै समूह 'डी' बाट विराटनगरले २ खेलबाट ६ अंक जोडेको छ । र, विराटनगरले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख पाउने छ भने दोस्रो हुने टिमले ३ लाख पाउनेछ ।