एजेन्सी । साविकको विजेता चिलीले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार बिहान भएको समूह चरणको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गर्दै चिलीले लगातार दोस्रो जित निकालेको हो ।
१० खेलाडीमा सिमित इक्वेडरविरुद्ध चिलीलाई जित दिलाउन जोसे फियुनजालीडा र एलेक्सिस सान्चेजले एक एक गोल गरे । इक्वेडरका इन्नर भ्यालेन्सियाले एक गोल फर्काए ।

नोभा फोन्टा एरिनामा खेलको आठौं मिनेटमा फियुनजालीडाले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । तर, खेलको ५१ औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई २-१ को जित दिलाए ।
यस्तै खेलको ८९ औं मिनेटमा गाब्रियल एचिलरले रातो कार्ड पाएपछि अन्तिम केहि मिनेट इक्वेडर १० खेलाडीमा समेटिएको थियो ।
जितसंगै चिलीले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । समूह 'सी' को चिलीले २ खेलबाट ६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित इक्वेडर २ खेलमा अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।
यस समूहमा उरुग्वेको ४ र जापानको १ अंक रहेको छ ।
