काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हलचोकस्थित एपीएफ मैदानमा शुक्रबार काठमाडौं महानगरपालिकासँग १-१ गोलको बराबरी खेल्दै बाह्रबिसेले अन्तिम चारको यात्रा तय गरेको हो ।
काठमाडौंसंगको बराबरीसंगै समूह 'सी' बाट बाह्रबिसेले ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनल प्रवेश गर्न बाह्रबिसेलाई बराबरीको आवश्यकता रहेको थियो । काठमाडौंलाई भने १२ गोलको जित आवश्यकता रहेको थियो ।
खेलको ३० औं मिनेटमा मनिषा थापा मगरले गोल गर्दै काठमाडौंलाई सुरुवाती अग्रता दिलाएकी थिईन् । तर, पहिलो हाफको अन्तिम मिनेटमा कप्तान सुष्मा तामाङले गोल गर्दै बाह्रबिसेलाई खेलमा फर्काएकी थिईन् । दोस्रो हाफमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।
अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिको आयोजनामा जारी प्रतियोगितामा समूह 'ए' बाट वालिङ नगरपालिका सेमिफाइनलमा पुगिसकेको छ । अ
प्रतियोगिताको विजेताले ५ लाख पाउने छ भने दोस्रो हुने टिमले ३ लाख पाउनेछ । फेयर प्ले टिमले ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार तथा विधागत उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।