काठमाडौं । रुस्लान थ्री स्टार क्लब र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिपमा बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार भएको खेलमा थ्री स्टार र मनाङले २-२ गोलको बराबरी खेलेका हुन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरुवाती अग्रता भने मनाङले बनाएको थियो । खेलको २२ औं मिनेटमा क्षितिज भण्डारीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, थ्री स्टार पहिलो हाफमै खेलमा फर्किएको थियो ।
पहिलो हाफको अन्तिम मिनेटमा थ्री स्टारका कप्तान दिपेश राउतले पेनाल्टीबाट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । मनाङका गोलरक्षक कुशल जंग गिरीले थ्री स्टारका कप्तानलाई पेनाल्टी क्षेत्रमा फल गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरे । खेलको ५८ औं मिनेटमा थ्री स्टारका सुमन श्रेष्ठले गोल गर्दै खेलमा २-१ को अग्रता बनाए । तर, खेलको अतिरिक्त समयमा मनाङका रोहन बल लामाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
यो बराबरीसंगै समूह 'बी' बाट मनाङ र थ्री स्टारले एक-एक अंक जोडेका छन् । यस समूहमा मनाङ र थ्री स्टारसंगै महेन्द्रा एपीएफ, त्रिभुवन आर्मी र फ्रेन्डस् क्लब रहेका छन् ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।