काठमाडौं । पोखरा महानगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।
हलचोकस्थित एपीएफ मैदानमा शुक्रबार कावासोती नगरपालिकालाई ३-२ गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।
पोखराको जितमा मनिषा पंगेनीले दुई तथा अन्जु थापाले एक गोल गरिन् । कावासोतीकी तिली थापा र उदया थापाले एक एक गोल फर्काइन् ।
जितसंगै समूह 'बी' को पोखराले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा पोखरा चौदण्डी गढीसंग पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।