काठमाडौं । विराटनगर महानगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा शुक्रबार धनगढी उपमहानगरपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेको हो ।
विराटनगरको जितमा रेखा पौडेलले ह्याट्रिक गरिन् । राष्ट्रिय टोलीका सदस्य समेत रहेकी रेखाले पहिलो हाफमा २ र दोस्रो हाफमा एक गोल गरेकी थिईन् । यस्तै सबिता मगरको नाममा एक गोल रह्यो ।
जितसंगै समूह 'डी' को विराटनगरले पहिलो खेलबाट ३ अंक जोडेको छ । धनगढीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।