काठमाडौँ । चौथो संस्करणको ललित स्मृति अन्डर युथ–१८ फुटबल च्याम्पियनसिपका स्थगित खेल आज (शुक्रबार) बाट सुरु हुदैछ ।
अखिल नेपाल फुटलब संघ एन्फाले गत बुधबार सुरु गरेको प्रतियोगिताको उद्घाटन खेल खेलाएर स्थगित गरेको थियो ।
सी डिभिजन छनोटको खेल नसकिएको कारण देखाउँदै ललित स्मृतिका बाँकी खेल स्थगित गरिएको बताईएको थियो । बिहिबार सी डिभिजन छनोटको खेल सकिएसंगै शुक्रबारबाट ललित स्मृति च्याम्पियनसिपका बाँकी खेल सुरु हुन लागेका हुन् ।
आज पुन सुरु हुन लागेको प्रतियोगितामा सिएमजी संकटा क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
उद्घाटन खेलमा न्यूरोड टिम एनआरटीले भ्याली च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।
एन्फाका तत्कालिन कार्यबहाक अध्यक्ष ललित कृष्ण श्रेष्ठको स्मृतिमा प्रतियोगिताको सुरुवात गरिएको हो । यस पटक अघिल्ला सिजन खेलेका मोफसलका चार क्लब भने सहभागी छैनन् ।
अघिल्ला तीन संस्करणमा १४ ए डिभिजन क्लब सहित १८ टिमको सहभागीता रहेको थियो । एन्फाले एएफसीको नयाँ नियम अनुसार ए डिभिजनका १४ क्लबलाई मात्र उमेर समुहको प्रतियोगितामा सहभागीता गराएको जनाएको छ ।
प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन ब्रिगेड व्बाइज क्लब हो । अघिका दुई संस्करण त्रिभुवन आर्मी क्लबले जितेको थियो ।