काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियासँग खेल्न आफ्नो टिम तयार रहेको बताएका छन् । नेपालको राष्ट्रिय फुटबल टिमले भोली (आईतबार) मलेसियासँग मैत्रिपुर्ण म्याच खेल्दैछ ।
खेलअघि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कालिनले बलियो टिम मलेसियालाई चुनौती दिन आफु तयार रहेको उल्लेख गरे । ‘मलेसियासँग खेल्न तयार छौँ ।’ उनले भने ।
उनले मलेसियन टिम निकै बलियो रहेको बताउँदै जित निकाल्नेमा आफु आशावादी रहेको उल्लेख गरे । ‘मलेसियन टिम नेपालभन्दा बलियो छ । हामी राम्रो फुटबल खेल्दै जित्नको लागि खेल्नेछौँ ।’ कालिनले भने ।
खेल मलेसियाको बुरीत जालिल राष्ट्रिय मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ ।
फिफा बरियतामा नेपाल १ सय ६१ औ स्थानमा रहँदा मलेसिया १ सय ६८ औ स्थानमा रहेको छ । फिफा बरियतामा नेपाल माथि देखिएपनि प्राविधिक रुपमा मलेसिया बलियो टिम हो ।
‘मलेसिया हामी भन्दा निकै माथि रहेको छ । खेल्न निकै कठिन हुनेछ ।’ प्रशिक्षक योहानले बताए । मलेसिया राम्रो टिम भएपनि राम्रो फुटलब खेल्दै जित निकाल्न आफु तयार रहेको कालिनले बताए ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले मैत्रिपुर्ण खेललाई विशेष तयारीका रुपमा लिएको छ । मुख्य प्रशिक्षक योहान कालिनले स्ट्राइकरद्वय विमल घर्ति मगर र भरत खवासलाई टिम बाहिर राख्दै नेपाली टिम तयार गरेका छन् ।
उनले फरवार्ड लाईनमा अभिषेक रिजाललाई मौका दिएका छन् । उनी पहिलो पटक टिममा परेका हुन् । कालिनले यसअघि कुवेत भ्रमणमा रहेका रवि पासवान, अजित भण्डारी, विमल राना, रवि सिलवाल र सन्तोष तामाङलाई दोस्रो मैत्रिपुर्ण भ्रमणमा समावेश गरेका छन् ।
चैत दोस्रो साता कुवेतविरुद्ध दुई मैत्रिपुर्ण खेल नेपालले एक हार र एक बराबरी खेलेको थियो ।