एजेन्सी । चीनको एफए कप फुटबलमा अनौठो घटना घटेको छ । एफए कप अन्तर्गत बुधबार राति भएको पाँचौ चरणको खेलमा उक्त घटना भएको हो ।
चाईनिज सुपर लिग क्लब बेइजिङ रेन्हेले मैदानमा ३ गोलकिपर उतारेपछि अनौठो दृश्य देखिएको थियो ।
घरेलु टिम गोन्जाउ एभरग्रान्डविरुद्धको खेलमा बेइजिङले ३ गोलकिपर मैदान उतारेको थियो । र, उक्त खेलमा बेइजिङले ५-० को फराकिलो हार व्यहोरेको थियो ।
गोन्जाउविरुद्ध बेइजिङले २ गोलकिपरलाई सब्सिच्युडको रुपमा मैदान उतारेको थियो । तर, दुवै खेलाडी गोलकिपरको भूमिकामा नभई स्ट्राइकरको भूमिकामा मैदान छिरेका थिए ।
बेइजिङले प्लेईङ सेटमा पहिलो रोजाईका गोलकिपर मोउ फेङफिलाई नै मैदान उतारेको थियो । तर, जब बेइजिङले गोल खादै गयो अनौठो दृश्य देखिदै आयो ।
खेलको ४३ औं मिनेटमा स्ट्राइकर सन विझी घाइते भएपछि उनको स्थानमा बेइजिङले गोलकिपर लुई पेङलाई मैदान पठाएको थियो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा अर्का स्ट्राइकर युफेन झाङको स्थानमा गोलकिपर चेन ली मैदान छिरेका थिए ।
उक्त खेलमा गोन्जाउका वेई शिहाओले ह्याट्रिक गरेका थिए । यस्तै झाङ लिनपेङ र याङ लियुले एक एक गोल गरेका थिए ।