एजेन्सी । जेन्टलम्यानले खेल्ने खेल भनिए पनि क्रिकेट निकै खतरनाक खेल हो । मैदानमा खेलाडीले विभिन्न प्रकारको सुरक्षा कवच लगाए पनि ढुंगा जस्तो साह्रो बलले लाग्दा थुप्रै खेलाडी तथा रेफ्री घाइते हुने गरेका छन् ।
क्रिकेट बलले लाग्दा कतिपय खेलाडीको मैदानमा नै मृत्यु भएको इतिहास छ । भारतका पुर्व खेलाडी रमन लाम्बाको बंगलादेशविरुद्धको खेलमा बलले लाग्दा निधन भएको थियो । निकै शक्त घाइते भएका उनको ३ दिन पछि मृत्यु भएको थियो ।
यस्तै अष्ट्रेलियाका खेलाडी फिलिप ह्युजको बलले लागेका कारण मैदानमै ज्यान गएको घटना सबैको आँखामा ताजा रहेको छ । उनको स्मृतिमा काठमाडौंमा च्यारिटी खेल समेत आयोजना गरिएको थियो ।
क्रिकेट इतिहासमा चोट लागेपनि खेल मैदानमा डटेर देशको लागि खेलेका उदाहरणहरु थुप्रै रहेको छ । चोटका बाबजुत मैदानमा डटेर खेल्ने ४ खेलाडीको सूची तयार गरिएको छ ।
१. ग्रेम स्मिथ (दक्षिण अफ्रीका)
सन् २००९ , सिड्नीमा भएको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको टेष्ट क्रिकेट थुप्रै समर्थकलाई खास रहने गर्छ ।
खेलको अन्तिम दिन दक्षिण अफ्रिकी खेलाडी ग्रेम स्मिथ ३० रनमा अविजित रहँदा घाइते भएका थिए । मिचेल जोनसनको बलिङमा बलले लाग्दा स्मिथको हात भाचिएको थियो । एक विकेट मात्र हातमा रहेको अवस्थामा दक्षिण अफ्रिकालाई ८ दशमलब २ ओभर मैदानमा टिक्नु थियो ।

सो बेला स्मिथ आफ्नो राष्ट्रको हार जोगाउने लक्ष्यसहित मैदानमा एक हातले खेल्न तयार भए । ६ ओभरसम्म डटेका उनलाई अन्तत जोनसनले नै बोल्ड गरे । स्मिथले सो खेल जोगाउन नसके पनि आफ्नो बहादुरीका देखाउदै सारा समर्थकको मन जितेका थिए ।
२. अनिल कुम्बले
सन् २००२ को वेष्ट इण्डिजविरुद्धको खेलमा एक इनिङ्समा १० विकेट हात पारेका अनिल कुम्बलेलाई भारतीय समर्थकले लामो समय बिर्सन सक्दैनन् ।

सो इनिङ्सलाई खास बनाउने मुख्य कारण थियो कुम्बलेको मुहारमा बाँधिएको पट्टी । इण्डिजका बलर मर्भ डिलनको बलले लागेर आफ्नो बंगारा भाँचिएको थियो । भाँचिएको बंगाराको चिन्ता नगरी कुम्बलेले १४ ओभर बलिङ गर्दै ब्रायन लारा, भिभन रिचार्ड्स जस्ता हस्तीलाई पेभिलियनको बाटो देखाएका थिए ।
३. मनसोर अली पटौडी
भारतका पुरा खेलाडी मनसोर अली सन् १९६१ मा कार दुर्घटनामा परेर दाहिने आँखा गुमाएका थिए । उनले एक आँखाले क्रिकेट अभ्यास गर्दै आफुलाई खेल्न तयार गर्दै सोहि वर्ष इङ्ल्याण्डविरुद्धको टेष्टमा डेब्यु गरे । तेस्रो टेष्टमा उनको शतकको मद्दतमा भारतले पहिलो पटक टेष्ट सिरिज जितेको थियो ।

सन् १९६२ मा उनी कप्तान घोषित हुँदा विश्वका युवा कप्तान बनेका थिए । चोटका कारण उनको क्रिकेट यात्रा लामो नभए पनि उनले ४६ खेलमा २ हजार ७ सय ९३ रन बनाउन सफल रहेका थिए । उनलाई समर्थकले बाघको उपनाम दिएका थिए । त्यसैले पटौडीलाई क्रिकेट इतिहासमा एक बहादुर खेलाडीको रुपमा हेरिंदै आएको छ ।
४. तामिम इकबाल
गत संस्करणको एसिया कपमा बंगलादेशका ब्याट्सम्यान तामिम श्रीलंकाविरुद्धको खेलको दोस्रो ओभरमा हातमा चोट लागेर मैदान छाडेका थिए ।

घाइते भएर अस्पताल लगिएको उनको हात भाचिएको र ६ हप्ता मैदानबाहिर बस्न डाक्टरको सुझाब थियो । तर, बंगलादेशको ९ खेलाडी आउट भएपछी ४७ औं ओभरमा इकबाल एक हातले ब्याटिङ गर्न मैदान प्रवेश गरे ।
एक हातले ब्याट समात्दै उनले बल रोक्दै अर्का खेलाडी मुस्फाकिर रहमानलाई स्ट्राइक दिए । बाँकी सबै ओभर उनले नन स्ट्राइक इण्डमा बिताए पनि उनको बहादुरीले सारा समर्थकले उनको प्रसंसा गरेका थिए ।