एजेन्सी । चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सर्रीले फरवार्ड गोन्जालो हिग्विनलाई क्लबमा स्थायी रुपमा राख्न प्रस्ताव गरेका छन् ।
लण्डन क्लबले चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा स्थान पक्का गरेपछि सर्रीले अर्जेन्टिनी फरवार्डलाई क्लबमा राख्न जोड गरिरहेका छन् ।
हिग्विनले सिजनमा पाँचौ गोल गर्दै चेल्सीलाई च्याम्पियन्स लिग छनोटको यात्रा तय गराएका थिए ।
सो खेलमा चेल्सीले वाटफोर्डविरुद्व ३–० ले जित निकालेको थियो ।
३१ बर्षका फरवार्ड गत जनवरीमा लोनमा चेल्सी आएका थिए ।
सर्रीले भनेका छन्, ‘हिग्विनको बिषयमा मलाई केही थाहा छैन । त्यसका लागि क्लबसंग सोध्न आवश्यक छ ।’

ईटालिनय क्लब एसी मिलानसंगको सम्झौता अनुसार उनलाई ३२ मिलियन पाउण्डमा स्थायी रुपमा क्लबमा राख्न सकिनेछ । वा आधा रकम तिरेर अर्को सिजन लोनमा राख्न सकिनेछ ।
सर्री सिरि ए क्लब नापोलीमा रहदाँ २०१५÷१६ को सिजनमा हिग्विनले लिगमा ३६ गोल गरेका थिए । हिग्विनको सो प्रर्दशन देखेका सर्री आफैसमेत निकै प्रभावित छन् ।
इटालियन प्रशिक्षक सर्री प्रिमियर लिगको अर्को सिजनमा हिग्विनले उत्कृष्ट लय देखाउनेमा विश्वास राख्छन् ।
‘फरवार्डको रुपमा प्रिमियर लिगमा खेल्न निकै कठिन छ । सबै फरवार्डमा त्यो लागु हुन्छ ।’ उनले भने, ‘लुईस स्वारेजले समेत पहिलो सिजनमा लिभरपुलमा मात्र तीन गोल गरेका थिए । त्यसपछि १६ र २४ गोल गरे । सोही कारण प्रिमियर लिगमा भिज्न समय लाग्छ । मलाई लाग्छ अर्को सिजन धेरै गोल गर्न उनी सक्षम छन् ।’
अवैध रुमपा युवा खेलाडी अनुबन्धनको आरोपमा दुई बर्षको प्रतिबन्ध भोगको चेल्सीको अपिलको निर्णयको धेरै बिषय निर्भर रहनेछ ।