काठमाडौं । न्यु होराइजन बुटवल वाईवाई कर्णाली प्रिमियर लिग क्रिकेटको फाइनल प्रवेश गरेको छ । आयोजक कर्णाली–११ लाई पराजित गर्दै बुटवलको टोली प्रतियोगिताको फाईनल पुगेको हो ।
सुर्खेतस्थित कालिन्चोक मैदानमा शुक्रबार विहान सम्पन्न खेलमा शक्ति गौचन कप्तानीको होराइजन ३ विकेटले विजयी भयो ।
बर्षा र हावाहुरीका कारण १३ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको कर्णाली–११ ले ४ विकेट गुमाएर ६२ रनको योगफल तयार गरेको थियो ।
कर्णालीका लागि कृष्ण कार्कीले सर्वाधिक ३३ रन बनाए । होराइजनका बलर शक्ति गौचनले २ विकेट लिए ।
६३ रनको लक्ष्य होराइजन बुटवलले ११ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर भेट्यो । जितमा शुबेन्दु पाण्डेले १८, निश्चल चौधरीले १०, बिशाल सुनारले अविजित १० तथा सुनिल धमलाले ८ रन बनाए ।
किशोर महतोले कर्णालीका लागि सर्वाधिक ३ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच शक्ति गौचन चुनिए ।
कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप(बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।