काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर सावित्रा भण्डारी भारतीय महिला लिग क्लब सेथु फुटबल क्लबमा अनुबन्धित भएका छन् ।
तमिलनाडुको क्लब सेथुले यसै साताबाट सुरु हुने 'हिरो भारतीय महिला लिग' का लागि सावित्रालाई अनुबन्ध गरेको हो । क्लबले बिहिबार सामाजिक सन्जाल फेसबुकबाट सावित्रालाई औपचारिक रुपमा अनुबन्ध गरेको जनाएको छ ।
'पहिलो विदेशी खेलाडीको रुपमा नेपालका सावित्रा भण्डारीलाई अनुबन्ध गर्न पाउँदा हामीलाई गर्व लागेको छ,' क्लबले सावित्राबारे भनेको छ, 'विश्व स्तरिय स्ट्राइकर उनी छोटो पास र उत्कृष्ट फिनिसका लागि चर्चित छिन् । स्वागत छ साम्बा।'
यस्तै क्लबले सावित्रालाई आफ्नो ट्रेडमार्क ९ नम्बरको जर्सी दिएको छ । सावित्राले राष्ट्रिय टिम र घरेलु लिगमा ९ नम्बर कै जर्सी लगाउने गरेकी थिईन् ।
भारतीय लिगका लागि सावित्रा गत सोमबार भारत गएकी थिईन् ।
सावित्रासंगै नेपाली टोलीका अर्का सदस्य अनिता बस्नेतले पनि सेथुबाट खेल्नेछिन् । तर, क्लबले उनलाई औपचारिक रुपमा घोषणा गरेको छैन ।
हिरो भारतीय महिला लिग मे ५ बाट २२ सम्म पन्जाबमा हुनेछ । लिगका सम्पूर्ण खेल लुधिआनास्थित गुरु नायक मैदानमा हुनेछ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ ।
लिगमा सावित्रा र अनिताको टिम सेथु समूह 'बी'मा रहेको छ । यस समूहमा सुथुसहित मनिपुर पुलिस स्पोर्टस् क्लब, बेङ्गरुलु युनाइटेड फुटबल क्लब, सिआरपीएफ महिला फुटबल टिम, साई एसटीसी काट्टेक , एफसी कोल्हापुर सिटी र बारुदा फुटबल एकेडेमी रहेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा सेथुले मनिपुर पुलिस स्पोर्टस् क्लबसँग मे ६ मा खेल्नेछ । यस्तै मे ८ मा बेङ्गरुलु युनाइटेड फुटबल क्लब, १० मा साई एसटीसी काट्टेक , १२ मा एफसी कोल्हापुर सिटी, १६ मा सिआरपीएफ टिमसँग खेल्नेछ । यस्तै समूहको अन्तिम खेलमा मे १८ मा बारुदा फुटबल एकेडेमीसँग खेल्नेछ ।
दुवै समूहका विजेता र उपविजेता टिम सेमिफाइलनमा पुग्ने छन् ।
लिगकै लागि सेथु क्लबले भारतीय चर्चित खेलाडी टिममा भित्राएको छ । उसले विराटनगरमा भएको साफ च्याम्पियन जिताउन महत्वपुर्ण भुमिका निर्बाह गरेका खेलाडी भित्राएको छ ।
सेथुले स्ट्राइकर रतन बला देबी सहित सन्ध्या, डाग्मी गार्सि र डिफेन्डरमा स्विटि देबी भित्राएको छ ।