एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछ । शनिबार हुने ला लिगाको खेल मध्ये एल क्लासिको भिडन्त सबैको पर्खाइको खेल हुनेछ ।
रियल मड्रिड र बार्सिलोनाबीचको एल क्लासिको भिडन्त नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ । खेल रियलको घरेलु मैदानमा हुनेछ ।
एक साता नबित्दै रियल र बार्सिलोना दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । गत बिहिबार कोपा डेल रे अन्तर्गत दोस्रो लेगको खेलमा दुई टोली भिडेका थिए । रियलको मैदानमा भएको खेलमा ३-० को जितसहित बार्सिलोना समग्रमा ४-१ को जित निकालेर फाइनल पुगेको थियो ।
शनिबार बार्सिलोना उक्त जितको लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ । यस्तै लिग लिडर बार्सिलोना उपाधि होड बलियो बनाउन चाहन्छ ।
लिगमा बार्सिलोनाले २५ खेलबाट ५७ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ७ अंकले अघि छ ।
यता, रियल कोपा डेल रेमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । यस्तै रियल बार्सिलोनालाई हराएर उपाधि होड कायम राख्न चाहन्छ ।
तेस्रो स्थानको रियलले २५ खेलबाट ४८ अंक जोडेको छ । रियल बार्सिलोना भन्दा ९ र एट्लेटिको भन्दा २ अंकले पछि छ ।
ला लिगा अन्तर्गत नै अन्य खेलमा स्पानियोलले रियल भालाडोलिट,भिल्ला रियलले डिपोर्टीभो अलाभेस र हुएस्काले सेभियाको सामना गर्नेछ ।