काठमाडौं । सातदोबाटो युथ क्लब र रानीपोखरी कर्नर टिम आरसीटी सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार सातदोबाटोले नयाँ बस्ति युथ क्लबलाई ३-१ गोल अन्तरले हरायो । सातदोबाटोको जितमा निरज महर्जन, बिमल केसी र रमेश कुमार राजवंशीले एक एक गोल गरे । नयाँ बस्तिका साजन राईले एक गोल फर्काए ।
जितसंगै समूह 'ए' बाट ११ अंक जोडेर सातदोबाटो फाइनल चरणमा पुगेको हो । आरसीटी ८ अंक जोडेर समूह 'ए' बाट फाइनल चरणमा पुग्यो ।
समूह 'बी' बाट टुसाल क्लब ११ अंक जोडेर फाइनल चरणमा पुग्दा श्री भगवती क्लब १० अंक जोडेर फाइनल चरणमा पुग्न सफल भएको छ ।
फाइनल चरणमा पुगेका दुई समूहका शीर्ष दुई टोलीले एक अर्काविरुद्ध खेल्ने छन् । हरेक टोलीले ३/३ खेल्ने छन् । सर्वाधिक अंक जोड्नेले उपाधि जित्ने छन् ।
लिग अन्तर्गत सोमबार खुमलटार युथ क्लबले स्पार्क हस्पिटल बाँसबारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो । खुमलटारको जितमा सबिन केसी र निर्मल गुरुङले एक एक गोल गरे । बाँसबारीका दिनेश कार्कीले एक गोल फर्काए ।