अनिश्चित बन्दै ग्वार्डिओलाको भविष्य

काठमाडौं। पेप ग्वार्डिओलाले प्रयोग गरेको ‘लम्बरज्याक’ शैलीको सर्ट चर्चा भइरहँदा रियल मड्रिडले फेरि एकपटक म्यानचेस्टर सिटीलाई हराउँदै यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
योसँगै उनको युरोपियन सपना योपल्ट समाप्त भएको छ। इतिहाद स्टेडियममा मंगलबार सम्पन्न खेलमा सिटी २–१ ले पराजित भयो। योसँगै समग्रमा ५–१ को हारसँगै सिटी प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो।
यस पराजयसँगै ग्वार्डिओलाको भविष्यबारे पुनः चर्चा सुरु भएको छ। सिटीमा १० वर्ष बिताइसकेका उनका लागि यो कुनै पनि क्लबमा सबैभन्दा लामो कार्यकाल हो। तर, सम्झौतामा अब एक सिजन मात्र बाँकी छ।
उनले सिजन अन्त्यपछि क्लब छाड्न सक्ने अनुमान गरिएको छ। खेलपछि आफ्नो भविष्यबारे अनिश्चितता व्यक्त गर्दै उनले भने,‘सबैले मलाई हटाउन चाहन्छन्। कुनै दिन म बाइ बाइ पनि भन्न सक्छु।’ यद्यपि उनको ‘अर्को सिजन हामी फर्किनेछौं’ भन्ने अभिव्यक्तिले क्लबमै रहने संकेत पनि दिएका छन्।
ग्वार्डिओलाको च्याम्पियन्स लिग यात्रामा रियल निरन्तर बाधक बन्दै आएको छ। पछिल्ला पाँच वर्षमा चारपटक रियलले सिटीलाई हराएको छ। यसले सिटीको युरोपियन उपाधि जित्ने महत्वाकांक्षामा बारम्बार धक्का पुर्याएको देखिन्छ।
ठूलो लगानी र घरेलु लिगमा प्रभुत्व जमाउनुका बाबजुद सिटीले ग्वार्डिओलाको नेतृत्वमा एकपटक मात्र च्याम्पियन्स लिग जित्न सकेको छ। यसलाई कतिपयले अपेक्षाभन्दा कम उपलब्धि मानेका छन्। ग्वार्डिओलाले आफ्नो उपलब्धिमाथिको दबाबप्रति व्यंग्य गर्दै भने,‘मलाई त ६ वटा च्याम्पियन्स लिग जित्नुपर्ने जस्तो बनाइन्छ।’
यसपटक रियलले केही प्रमुख खेलाडीको अनुपस्थितिका बाबजुद उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको थियो। नयाँ प्रशिक्षक अल्भारो अर्बेलोआको नेतृत्वमा टोलीले निरन्तर राम्रो नतिजा निकाल्दै गइरहेको छ। उनले ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षक भन्दै आफ्नो सफलताको श्रेय खेलाडीहरूलाई दिएका छन्।
ग्वार्डिओलाले आफ्नो भविष्यबारे स्पष्ट निर्णय सार्वजनिक नगरे पनि सिटीसँगको भावनात्मक सम्बन्ध भने दीर्घकालीन रहने बताएका छन्।







-1773819743320.jpeg&w=3840&q=75)




-1773803404132.webp&w=3840&q=75)
-1773802869633.webp&w=3840&q=75)