जापानले महिला एसियन कपको फाइनलमा

काठमाडौं। दक्षिण कोरियामाथि ४–१ को प्रभावशाली जित निकाल्दै जापानले महिला एसियन कपको फाइनलमा स्थान बनाएको छ।
सिड्नीको स्टेडियम अस्ट्रेलियामा बुधबार भएको सेमिफाइनलमा जापानका लागि रिको उएकी र माइका हमानोले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
समूह चरणमा अस्ट्रेलियालाई गोल अन्तरमा पछि पार्दै अघि बढेको दक्षिण कोरियाविरुद्ध जापानले सुरुदेखि नै खेलमा प्रभुत्व जमाएको थियो। ४३औं मिनेटमा आओबा फुजिनोले गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) को निर्णयपछि उक्त गोल मान्य भएन।
फिफा वरीयतामा एसियाकै शीर्षस्थान (सातौं) मा रहेको जापानले ७५औं मिनेटमा अनुभवी डिफेन्डर साकी कुमागाइको हेडरमार्फत अग्रता फराकिलो बनायो। उक्त गोल मोमोको तानिकावाको कर्नरबाट सम्भव भएको थियो।
प्रतियोगिताभर पहिलो पटक गोल खान पुगेको जापानविरुद्ध दक्षिण कोरियाकी काङ छे-रिमले ७८औं मिनेटमा गोल फर्काइन्। तर, ८१औं मिनेटमा रेमिना चिबाले शक्तिशाली प्रहार गर्दै जापानको जित सुनिश्चित गरिन्।
अब जापानले उपाधिका लागि अस्ट्रेलियासँग शनिबार सिड्नीमै प्रतिस्पर्धा गर्नेछ। यसअघि २०१४ र २०१८ को फाइनलमा जापानले अस्ट्रेलियालाई पराजित गरेको थियो। तर, २०२२ मा दुवै टोली फाइनल पुग्न सकेका थिएनन्।
उक्त संस्करणमा चीनले दक्षिण कोरियालाई हराउँदै उपाधि जितेको थियो। जापान एसियाबाट फिफा महिला विश्वकप जित्ने एक मात्र टोली हो। उसले २०११ को फाइनलमा अमेरिकालाई पेनाल्टीमा हराएको थियो।
अर्को सेमिफाइनलमा स्याम केरको ५८औं मिनेटको निर्णायक गोलमा अस्ट्रेलियाले चीनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
यस प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारै टोली २०२७ को महिला विश्वकपका लागि स्वतः छनोट भइसकेका छन्।






-1773819743320.jpeg&w=3840&q=75)
-1773803404132.webp&w=3840&q=75)




-1773802869633.webp&w=3840&q=75)