बालोन डि’ओरमा आइतानाको ह्याट्रिक
-1758598802777.webp&w=3840&q=75)
काठमाडौं। बार्सिलोनाकी स्टार आइताना बोनमात्तीले लगातार तेस्रो पटक महिला बालोन डि’ओर जितेकी छिन्। तर, यसपटक उनको यात्रा सजिलो भने थिएन।
उनले इङ्ल्यान्डकी गोलरक्षक हान्ना ह्याम्पटनलाई पछि पारेकी हुन्। ह्याम्पटनलाई यस वर्षको उत्कृष्ट महिला गोलरक्षक घोषणा गरिएको छ।
पुरस्कार जितेपछि बोनमात्तीले भावुक हुँदै भनिन्,‘तेस्रो पटक यहाँ उभिँदा पनि अझै विश्वास लागिरहेको छैन। म बार्सिलोनाप्रति सधैं ऋणी छु। यो मेरो जीवनको उत्कृष्ट क्लब हो।’
बार्सिलोनासँगै उनी घरेलु ट्रेबल जित्न सफल भइन् र युरोपियन च्याम्पियन्स लिगको फाइनलसम्म पुगेकी थिइन्। महिला फुटबलतर्फ लगातार पाँच वर्ष बार्सिलोनाकै खेलाडीले बालोन डि’ओर जितेका छन्।
यसपटक भने धेरैलाई पहिलोपटक कुनै इङ्लिस खेलाडी विजेता बन्ने लागेको थियो। इङ्ल्यान्डले युरो जितेको थियो र आर्सनलले महिला च्याम्पियन्स लिग जितेको थियो। त्यसैले आशा बलियो थियो।
तर, पाँच जना इङ्ल्यान्डकी खेलाडी टप–१० भित्र परे पनि सबैभन्दा माथि अलिसिया रूसो मात्र तेस्रो स्थानमा सीमित भइन्।