यमललाई पछि पार्दै डेम्बेले जिते बालोन डी’ओर

काठमाडौं। फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्टार फरवार्ड उस्मान डेम्बेलेले अन्ततः विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि बालोन डी’ओर जितेका छन्।
स्पेनिस युवा सनसनी खेलाडी लामिन यमलसँगको प्रतिस्पर्धा पार गर्दै उनले २०२४–२५ को वर्षकै उत्कृष्ट खेलाडीको ट्रफी आफ्नो हातमा पारेका हुन्।
सोमबार राति पेरिसको प्रसिद्ध शातलिये थिएटरमा आयोजित भव्य कार्यक्रममा ब्राजिली महान् स्टार रोनाल्डिन्होको हातबाट उनले ट्रफी ग्रहण गरे।
गत सिजन पीएसजीलाई च्याम्पियन्स लिग, लिग १ र फ्रेन्च कप जिताउन महत्त्वपूर्ण योगदान गरेका डेम्बेलेको नाम सुरुदेखि नै बलियो दाबेदारको रूपमा थियो। उनीसँगै प्रतिस्पर्धा गर्नेमा बार्सिलोनाका युवा प्रतिभा यमल थिए।
तर, यमललाई सर्वश्रेष्ठ उदीयमान खेलाडी घोषणा गरिएसँगै मुख्य ट्रफीको बाटो डेम्बेलेकै लागि खुलेको थियो। १२ किलो तौलको सुनले बनेको अनमोल ट्रफी हातमा परेपछि सधैं शान्त स्वभावमा देखिने डेम्बेले भावुक बने।