फाइनल पुग्न नेपालले भारतसँग खेल्ने
२०२५ सेप्टेम्बर २२, सोमबार

काठमाडौं। नेपालले साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न साबिक विजेता भारतसँग खेल्ने भएको छ।
कोलम्बो रेसकोर्समा सोमबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले आफ्नो प्रतिद्वन्दी पाएको हो।
उक्त खेलमा भारत ३–२ ले विजयी बन्यो। योसँगै अपराजित रहेको भारत ९ अंकसहित आफ्नो समूहको विजेता बनेको हो। नेपाल भने समूह ‘ए’को उपविजेता हो। भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले पाखा लगाएको थिो। नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको थियो।
तर, दोस्रो खेलमा भने साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भएको थियो। अन्तिम खेलमा बंगलादेशले श्रीलंकालाई ४–० ले हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। नेपाल र भारत बिहीबार अन्तिम चारमा भिड्नेछन्। सोही दिन बंगलादेश र पाकिस्तानले एकअर्कासँग खेल्नेछन्।