तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

बुटवल। तिलोत्तमा क्रिकेट लिग (टिसीएल) को अक्सन सोमबार सम्पन्न भएको छ।
फ्रेन्चाइज आधारित टी–२० क्रिकेट लिगमा कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने छन्। अक्सनमार्फत प्रत्येक टोलीले समान १४ गरी ८४ खेलाडीलाई अनुबन्ध गरेको आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले जनाएको छ।
प्रत्येक टोलीका कप्तान र मार्की खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरेका छन् भने बाँकी खेलाडीले ५ हजार रुपैयाँ पाए।
टिम घोषणा अनुसार द रिभाइभलियन्सको कप्तानी सिद्धार्थ ढकालले गर्नेछन् भने मार्की खेलाडी प्रिन्स पाल रहने छन्। खेलसिकी ओर्कासको कप्तानी अञ्जिला पाठकले गर्नेछिन्। उनी ६ टोलीमध्ये एक मात्र महिला कप्तान हुन्। उनको टोलीमा मार्की खेलाडी सुशान्त सुवेदी रहेका छन्।
बुटवल डायनामाइटको कप्तानी सागर गैरेले गर्नेछन्, मार्की खेलाडी सुप्रीम कँडेल रहेका छन्। नेपथ्य ईगलको कप्तानी लक्ष्मण कुम्हालले गर्नेछन् भने मार्की खेलाडी समीर अली रहेका छन्। विश्व लायन टर्टल्सको कप्तानी आशुतोष पाण्डेले गर्नेछन्। उनको टोलीको मार्की खेलाडी शुभम खनाल रहने छन्।
छैटौं टोली पिके २ डीको कप्तानी सागर भण्डारीले गर्नेछन् भने मार्की खेलाडीमा रुद्रांश भट्टराई छन्। प्रतियोगिता १९ असोजदेखि एक्स्ट्राटेक ओभल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।