भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

काठमाडौं। भारत–पाकिस्तानबीचको ७३ वर्ष लामो क्रिकेट प्रतिद्वन्द्वितामा अहिलेसम्म कहिल्यै नभएको दृश्य दुबईमा देखियो।
अघिल्ला पाँच खेलसम्म मात्र लगातार जित–हारको इतिहास थियो। तर, पाकिस्तानले यसपटक लगातार छैटौं खेलमा पनि भारतसँग हार बेहोर्दै लज्जास्पद कीर्तिमान कायम गरेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको एसिया कप सुपर फोको खेलमा पाकिस्तानलाई भारतले ६ विकेटले हरायो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले साहिबजादा फरहानको अर्धशतकको मद्दतमा २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रनको सम्मानजनक योगफल बनायो।
तर, लक्ष्य पछ्याउन उत्रिएको भारतले अभिषेक शर्माको तुफानी ब्याटिङमा सजिलो जित निकाल्यो। उनले ३९ बलमा ७४ रन बनाए। शुभमान गिलसँगै पहिलो विकेटका लागि १०५ रनको साझेदारी गरेपछि भारतले खेल नियन्त्रणमा लियो।
गिल २८ बलमा ४७ रन बनाएर आउट भए भने कप्तान सूर्यकुमार यादव शून्य रनमै पेभेलियन फर्किए। तर, अभिषेकले रन वर्षाइरहेका थिए। उनी आउट भएपछि सञ्जु स्यामसन (१३ रन) पनि सस्तैमा फर्किए।
अन्त्यतिर तिलक वर्मा (१९ बलमा ३० अविजित) र हार्दिक पाण्ड्या (७ रन अविजित) ले सजिलै लक्ष्य पूरा गर्दै भारतलाई जित दिलाए।
पाकिस्तानको सुरुआत राम्रो भएपनि विवादित अम्पायरिङले खेलको मोड बदलिदियो। सुरुआती ब्याटर फखर जमनलाई हार्दिक पाण्ड्याको बलमा आउट घोषणा गरियो। तर, भिडियो रिप्लेमार्फत स्पष्ट नदेखिँदा यो निर्णय विवादास्पद बन्यो।
फरहान (३४ बलमा ५०) ले राम्रो इनिङ्स खेले। तर, साइम अय्यूब (२१), हुसेन तलत (१०) र मोहम्मद नवाज (२१) अपेक्षित योगदान दिन सकेनन्। अन्त्यतिर फाहिम अशरफले ८ बलमा २० रनको तुफानी इनिङ्स खेले। कप्तान सलमान अली आघा १७ रनमा नटआउट रहे।
भारतका शिभम दुबेले २ विकेट लिएका थिए भने कुलदीप यादव र हार्दिक पाण्ड्याले १–१ विकेट झारे। खेलपछि पनि ह्यान्डशेक विवाद सतहमा रह्यो। अघिल्ला खेलझैं यसपटक पनि भारतीय र पाकिस्तानी खेलाडीहरूले टस वा खेलपछि हात मिलाएनन्।