रियलनजिक पुग्दै बार्सिलोना

काठमाडौं। फेरान टोरेसले दुई गोल गर्दा बार्सिलोनाले आइतबार ला लिगामा गेटाफेलाई ३–० ले हरायो।
डानी ओल्मोले तेस्रो गोल र एक असिस्ट थप्दै प्रशिक्षक हान्सी फ्लिकको टोलीलाई सान्ट जोआन डेसीपी प्रशिक्षण मैदानमा भएको खेलमा सहज जित दिलाए।
यस जितसँगै अपराजित बार्सिलोना १३ अंकसहित तालिकामा दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग अझै २ अंकले पछि परेको छ। रियलले शनिबार एस्पानियोललाई हराउँदै पाँच खेलमा पाँचै जित निकालेर पूर्ण १५ अंक जोडेको थियो।
६ हजारभन्दा समर्थकले बढी वर्षामा भिजेर खेल हेरेका थिए। बार्सिलोनाले सुरुदेखि नियन्त्रणमा राख्यो। लगातार तेस्रो खेलमा चोटका कारण लामिन यमल अनुपस्थित हुँदा पनि टोलीले आफ्नो प्रभाव देखायो।
टोरेसले रोबर्ट लेवान्डोस्कीलाई विश्राम दिँदै पहिलो रोजाइमा अवसर पाएका थिए। उनले १५औं मिनेटमा ओल्मोको ब्याक–हिल पासमा उत्कृष्ट फिनिस गर्दै अग्रता दिलाए। त्यसपछि ३४औं मिनेटमा रफिन्हाको थ्रु–बलमा अफसाइड ट्याप गर्दै दोस्रो गोल थपे।
२५ वर्षीय स्पेनी फरवार्डले पहिलो हाफमै ह्याट्रिक पूरा गर्ने मौका पाएका थिए। तर, गोलरक्षकलाई छक्याएर प्रहार गर्दा बल बारमा ठोक्कियो। अहिलेसम्म उनले पाँच खेलमा चार गोल गरेका छन्, जुन लिगमा रियलका किलियन एमबाप्पेको भन्दा एक गोल मात्र कम हो।
‘म बार्सिलोनामा नियमित खेलाडी बन्न सक्छु। हरेक अवसरलाई प्रयोग गर्न चाहन्छु,’ टोरेसले डिएजएनसँग भने, ‘हामीसँग गुणस्तरीय खेलाडीहरू छन्। ती खेलाडीले खाली स्थान भेट्टाउन सक्छन् र आज हामीले त्यसलाई राम्ररी उपयोग गर्यौं।’
दोस्रो हाफमा पनि बार्सिलोनाले खेल नियन्त्रणमा राख्यो। च्याम्पियन्स लिगमा मध्यसप्ताह उत्कृष्ट प्रदर्शनपछि आराम पाएका मार्कस रासफोर्ड ६३औं मिनेटमा मैदान प्रवेश गर्दै तुरुन्त प्रभावकारी बने। दायाँ विंगबाट दौडिएर उनले क्रस दिएका थिए, जसलाई ओल्मोले बक्सभित्रै बाट प्रहार गरी तेस्रो गोल बनाए।
यस जितसँगै बार्सिलोनाले सिजनको बलियो सुरुआतलाई निरन्तरता दिएको छ। क्याम्प नोउको मर्मतसम्भार ९ महिना ढिला भएपछि क्लब अहिले अस्थायी रूपमा आफ्नै प्रशिक्षण मैदानमा खेलिरहेको छ। गत तीन वर्षदेखि घरेलु मैदान बनेको लुइस कम्पानिस ओलम्पिक रंगशाला आइतबार उपलब्ध नभएकाले टोलीले सान्ट जोआन डेसीपीमा खेल खेलिएको हो।
बार्सिलोनाको अर्को खेल बिहीबार रियल ओभिएदोविरुद्ध बाहिर हुनेछ भने आठौं स्थानमा रहेको गेटाफेले बुधबार अलाभेसलाई घरेलु मैदानमा आतिथ्य गर्नेछ।