काठमाडौं। प्रिमियर र टिम क्वासनले एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ब्वाइज फाइनलमा प्रिमियरले जेभियरलाई १७–१३ ले पराजित गर्यो। प्रिमियरबाट अश्विन चालिसे (कप्तान), प्रथम श्रेष्ठ, प्रणयमान श्रेष्ठ र दावा लामाले प्रतिस्पर्धा गरेका थिए।
विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे। एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा क्वासनले बलर्स एकेडेमीलाई ११–१० को साँघुरो अन्तरले हरायो।
क्वासनको टोलीबाट सोनाम डोल्मा लामा (कप्तान), उर्जा राना मगर, गुरुत्सो लामा र छिरिङ शेर्पाले खेलेका थिए। पहिलो हुनेलाई १५ हजार तथा दोस्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरियो।
नेपाल बास्केटबल संघको सहकार्यमा भएको प्रतियोगिताको ब्वाइजमा प्रिमियरका अश्विन र गल्र्समा क्वासनकी उर्जा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र आयोजक एस इन्टरनेसनल बिजनस स्कुलका कार्यकारी निर्देशक आशिष तिवारीले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।