काठमाडौं। दुई दशक अघिसम्म नेपालका फुटबल समर्थकले ‘एसियन कप’ भन्ने शब्दलाई टाढाको सपना ठान्थे। तर, अहिले नेपाली युवा टोली त्यही महादेशीय यात्राको ढोका ढकढक्याउँदै छ।
नेपाली यु–२३ टोली बुधबार राति ९:४५ बजे ताजकिस्तानको सेन्ट्रल रिपब्लिकन स्टेडियममा उत्रिनेछ। उक्त मैदानमा उत्रिँदा नेपाली टोली खेल्ने मात्र होइन, नयाँ इतिहास लेख्ने लक्ष्यमा हुनेछन्।
‘हामी यहाँ हार्न आएका होइनौं, जित्न आएका हौं,’ मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रि–म्याच कन्फ्रेन्समा दृढ स्वरमा भने। उनको यो वाक्य खेलाडीहरूका लागि मात्र होइन, टाढा नेपालमै बसिरहेका समर्थकहरूका लागि पनि आत्मविश्वास दिने सन्देश हो।
कप्तान आयुष घलानले नेतृत्व गर्ने टोली अनुभव र युवा दुवैको मिश्रण हो। राष्ट्रिय टोलीमा पहिले नै खेलिसकेका केही अनुहारहरूसँगै नयाँ पुस्ताका युवा खेलाडी पनि यही टोलीमा छन्, जसका लागि यो प्रतियोगिता आफ्नो पहिचान बनाउन सुनौलो अवसर हो।
समूह ‘के’ मा नेपालले पहिलो खेलमै घरेलु टोली ताजकिस्तानसँग भिड्नेछ। त्यसपछि सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नुपर्नेछ। प्रत्येक खेलले एएफसी यु–२३ एसियन कपतर्फको बाटो निर्धारण गर्नेछ।
यो टोलीले अहिले सामना गर्ने सबैभन्दा ठूलो चुनौती प्रतिद्वन्द्वी होइन। आफ्नै मनमा घुम्ने प्रश्नमा हो। के हामी सक्छौं? प्रशिक्षक न्यौपाने भन्छन्,‘हामी ३ अंकका लागि आएका हौं। हो, हामी सक्छौं।’