काठमाडौं। बंगलादेशका स्टार मिडफिल्डर हम्जा देवान चौधरी नेपाल नआउने भएका छन्।
बंगलादेशले आगामी सेप्टेम्बर ६ र ९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालसँग दुईवटा फिफा मैत्रीपूर्ण खेल खेल्ने तय छ।
त्यसकै तयारीस्वरूप टोली बुधबार नेपाल आउँदै छ। तर, लेस्टर सिटीबाट खेल्दै आएका हम्जा यसपटक टोलीमा नहुने भएका छन्।
मुख्य प्रशिक्षक हाभियर काब्रेराका अनुसार उनलाई क्लबले नछाडेको हो। फिफा नियमअनुसार विन्डो अवधिमा खेलाडी बोलाइएपछि क्लबले छाड्नैपर्छ। खेलअघि कम्तीमा ४८ घण्टा अगाडि राष्ट्रिय टोलीसँग उपलब्ध गराउने दायित्व पनि क्लबकै हो।
उल्लंघन भएमा फेडेरेसनले कारबाही गर्न सक्छ। तर, बंगलादेश फुटबल फेडेरेसन (बीएफए) यसबारे अहिलेसम्म कुनै प्रतिकृया दिएको छैन।
बंगलादेशले आगामी अक्टोबर ९ मा हङकङविरुद्ध एएफसी एसियन कप छनोट खेल खेल्नेछ। त्यसको तयारीस्वरूप नै नेपालसँग दुईवटा मैत्रीपूर्ण खेल तय गरिएको हो।