काठमाडौं। अमेरिकाको मेजर लिग सकर (एमएलएस) र मेक्सिकोको लिगा एमएक्सबीच बिहीबार बिहान भएको अल–स्टार खेलमा एमएलएस टोली ३–१ ले विजयी भएको छ। खेलमा इन्टर मियामीका स्टार लिओनल मेसी र जोर्डी आल्बा भने अनुपस्थित थिए।
दुवै खेलाडी अल–स्टार खेलमा नआएकाले शनिबार सिन्सिनाटीसँग हुने खेलका लागि निलम्बनमा पर्ने खतरा बढेको छ। तर, सम सर्ज, ताइ बारिबो र ब्रायन ह्वाइटले गोल गर्दै एमएलएस टोलीलाई जित दिलाए।
'मेसी महान् खेलाडी हुन्,' एमएलएस अल–स्टार टोलीका प्रशिक्षक निको एस्टेभेजले भने,'तर आज मैदानमा उपस्थित भएका खेलाडीहरूप्रति सम्मान देखाउनुपर्छ। उनीहरूले उत्कृष्ट प्रदर्शन गरे। यो सप्ताह विशेष छ, सबैका लागि यो सम्भव हुँदैन।'
लिगा एमएक्सतर्फबाट पनि जेम्स रोड्रिग्वेज मैदानमा उपस्थित भएनन्। टेक्सासस्थित क्यु–टु स्टेडियममा २० हजारभन्दा बढी दर्शकको उपस्थितिमा यो खेल सम्पन्न भयो।
एमएलएसले लिगा एमएक्सविरुद्ध अन्तिम चार खेलमध्ये तीनपटक जित हासिल गरिसकेको छ। गत वर्ष ओहायोको कोलम्बसमा लिगा एमएक्सले ४–१ ले जितेको थियो। एमएलएसले २०२२ मा र त्यसअघि एकपटक पेनाल्टी सुटआउटमा जितेको थियो।
मेसी अहिलेसम्म कुनैपनि एमएलएस अल–स्टार खेलमा मैदान उत्रिएका छैनन्। उनी अघिल्लो वर्ष चोटका कारण खेलबाट बाहिर थिए। अहिले मेसी र सम सर्ज दुवै १८ गोलसहित एमएलएसमा शीर्ष स्थानमा छन्।