काठमाडौं। कोस्टारिका राष्ट्रिय टोलीका अनुभवी गोलकिपर तथा रियल मड्रिडका पूर्वखेलाडी केलर नाभासले अब मेक्सिकोको शीर्ष डिभिजन लिगा एमएक्स क्लब युनाम पुमासबाट खेल्ने भएका छन्।
अर्जेन्टिनाको क्लब न्युवेल्स ओल्ड ब्वाइजमा छोटो ६ महिनाको बसाइपछि नाभासले एक वर्षका लागि पुमाससँग सम्झौता गरेका हुन्।
नाभासले पुमासमा अनुबन्ध हुनुअघि दुई विशेष व्यक्ति आफ्ना पूर्वटिममेट सर्जियो रामोस र हाल कोस्टारिकाको राष्ट्रिय टोली प्रशिक्षक मिगुएल हेरेरासँग परामर्श लिएका थिए।
‘म यहाँ सम्पूर्ण प्रयास गरेर उत्कृष्ट प्रदर्शन गर्न आएका हुँ,’ नाभासले भने,‘म इतिहास रच्न चाहन्छु, उपाधि जित्ने मानसिकतासहित आएको छु। विनम्रतापूर्वक मिहिनेत गरे हामी त्यो लक्ष्यमा पुग्न सक्छौं।’
पुमासले हालै वेल्सका मिडफिल्डर एरोन राम्से, कोलम्बियाका डिफेन्डर अल्भारो आंगुलो र इक्वेडरका मिडफिल्डर पेद्रो भिटेलाई पनि अनुबन्ध गरिसकेको छ।
३८ वर्षीय नाभास र ३९ वर्षीय सर्जियो रामोसले रियलमा पाँच सिजन सँगै खेलेका थिए। यी दुईले तीन च्याम्पियन्स लिग उपाधि जिते। त्यसपछि यी दुई खेलाडी पेरिस सेन्ट– जर्मेन (पीएसजी) मा पनि सँगै रहे। त्यहाँ सन् २०२२ मा लिग उपाधि जिते।
हालै रामोस मेक्सिकोको क्लब मोन्टेरेमा अनुबन्धित भएका छन्। नाभासले रामोससँग मेक्सिकोमा अनुभव कस्तो रह्यो भनेर सोधेका थिए।
‘सर्जियोले यहाँको अनुभवबारे केही कुरा गरे। यहाँ हाल जेम्स रोड्रिगेज पनि उच्च स्तरमा खेलिरहेका छन्। लिगा एमएक्स प्रतिस्पर्धात्मक लिग हो र यहाँको संरचना राम्रो छ,’ नाभासले पत्रकार सम्मेलनमा भने।
जेम्स रोड्रिगेले रियलमा नाभास र रामोससँग चार सिजन खेलेका थिए। अहिले मेक्सिकन क्लब लिओनबाट खेलिरहेका छन्।