काठमाडौं। स्पेनिस च्याम्पियन बार्सिलोनाले आफ्नो जापान भ्रमण स्थगित गर्ने घोषणा गरेको केही दिनपछि अब त्यही प्रि–सिजन खेल खेल्ने भएको छ।
क्लबले शुक्रबार जारी गरेको विज्ञप्तिमा अनुबन्धसम्बन्धी विवाद समाधान भएपछि खेल तय भएको उल्लेख गरिएको छ।
बार्सिलोनाले आइतबार जापानी क्लब विसेल कोबेविरुद्ध मैत्रीपूर्ण खेल खेल्न आफ्नो टोली जापान जाँदै गरेको जानकारी दिएको छ।
‘दुई दिनअघि खेल रद्द गर्नु परेको अवस्थामा देखिएको सबै समस्या आयोजक र क्लबबीचको छलफलबाट समाधान गरिएको छ,’ क्लबले जनाएको छ। तर, आयोजक कम्पनीको नाम भने क्लबले खुलाइएको छैन।
जापान भ्रमणपछि बार्सिलोनाले दक्षिण कोरिया भ्रमण गर्नेछ, जहाँ जुलाई ३१ मा एफसी सिओल र अगस्ट ४ मा डेगु एफसीसँग खेल्ने तालिका छ।
पछिल्ला वर्षहरूमा ठूलो ऋण समस्यामा परेको बार्सिलोनाले अन्य ठूला क्लबहरूजस्तै समरमा विदेशी देशहरूमा प्रदर्शनी खेलहरू खेल्दै अतिरिक्त आम्दानी गर्ने रणनीति अपनाउँदै आएको छ।